श्री १०८ नारायणानन्द गिरिजी महाराजको जन्म वि.सं. १९६९ सालमा पल्पाको यमघा गाउँमा भएको थियो । उहाँका बुवा श्री कमल गिरि हुनुहुन्थ्यो । उहाँ सानैदेखि आध्यत्मिक स्वभावका संस्कृतप्रेमी हुनुहुन्थ्यो। उहाँले भारतको काशी, हरिद्वार लगायत विभिन्न स्थानमा संस्कृत अध्ययन गरी भारतको नैमिषारण्यमा संस्कृत गुरुकुल स्थापना गरी नेपालमा आई रुपन्देहीको सिद्धार्थनगर र मणिग्राममा गुरुकुल स्थापना गर्नु भएको, पाल्पा माडीमा गुरुकुल, ललितपुरमा संस्कृत गुरुकुल, इटहरीमा संस्कृत पाठशाला, अन्त्यमा भारतको दार्जिलिङ्मा संस्कृत गुरुकुल संचालन गरी संस्कृतको प्रचार प्रसार गरी समाजलाई सु-संस्कृत बनाउनेमा ठूलो भूमिका निर्वाह गर्नु भएको थियो। ती सबै गुरुकुल भन्दा ठूलो प्रयास र सम्पदाको जोहो गर्नुभएको संस्कृत विद्याश्रम भैरहवाको हो। वि. सं २०२२ तिर उहाँकै ठूलो प्रयास र हसनापुर निवासी तत्कालीन श्री ५ को सरकारका वनमन्त्री श्री दयानिधि पौडेलको पहलमा ५४ बिघा १२ कठ्ठा जग्गा रुपन्देहीको हसनापुरमा संस्कृत विद्याश्रमको नाममा दर्ता कायम भएको अभिलेख र पौडेल परिवारका सदस्यहरुसँग अवगत भयो। २०२६ तिर शान्तिनगरको विमानस्थल दोगहरा सदा खाली रहेको जग्गाको ४ बिघा ४ कठ्ठा जग्गामा विद्याश्रम स्थापना गराउन अतुलनीय प्रयास गर्नुहुने स्वामीजी प्रति समाज जन्म जन्मान्तर ऋणी रहनेछ।